काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ आफ्नै पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘शुर्दन’लाई अस्पतालमै गएर भेटेका छन्। हृदयघात भइ शहीद गंगालाल राष्ट्रिय हृयदरोग केन्द्र बाँसवारीमा भर्ना भएका ओलीलाई विप्लवले मंगलबार दिउँसो साढे २ बजेतिर भेटेका हुन्।
विप्लवले ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन्।
गत फागुनदेखि 'खुला राजनीतिमा' आएपछि प्राय आफ्नो गृहजिल्ला कपिलवस्तमा नै रहँदै आएका विप्लव केही दिन अगाडि काठमाडौं आएका थिए।
सरकारसँग ३ बुँदे सम्झौता गरेर खुला राजनीतिमा आएका विप्लवले केही दिन अगाडि प्रधानमन्त्री (हाल निवर्तमान) केपी शर्मा ओलीलाई भेटेर नेता–कार्यकर्ताहरुको रिहाइ र मुद्दा फिर्ता नभएकोप्रति असन्तुष्टि जनाएका थिए।
काठमाडौं आएको मौकामा विप्लवले मंगलबार आफ्नै पार्टीका नेता ओलीलाई अस्पतालमै गएर भेटेका हुन्।
ललितपुरको नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोट प्रकरणको मुद्दामा थुनामा रहेका नेता ओलीलाई गत शनिबार ‘साइलेन्ट हर्ट अट्याक’ भएपछि अस्पताल भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।