काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लक्ष्य गरेर रेफ्रीले खेल खेलेको टिप्पणी गरेका छन्। उनले खेल खेल्ने जिम्मेवारी खेलाडीको भएको बताउँदै रेफ्री निश्चित पक्षलाई जिताउन लागिपरेको बताएका हुन्।
प्रधानमन्त्रीबाट बाहिरिनुअघि गरेको सम्बोधनमा उनले भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीको हो। रेफ्री स्वयंमा खास पक्षलाई जिताउने इच्छा जाहेर भयो भने त्यसले जोखिम निम्त्याउँछ।’
उनले मागादाबी नै नगरेका विषयमा फैसला दिँदै आएको उल्लेख गर्दै त्यसले जटिलता बढाउने बताएका छन्। आफूलाई संवैधानिक नैतिकताका विषयमा पाठ पढाउन नपर्ने स्पष्ट पार्दै भने, ‘लोकतन्त्र मेरा निम्ति जीविका होइन, जीवन हो।’
उनले अदालतले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए। यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फैसलाअघि नै दिएको अभिव्यक्तिलाई लक्षित गरेर खास व्यक्तिहरुलाई दुई हप्ताअघि नै जानकारी दिइएकोसमेत उल्लेख गरे।
उनले भने, ‘निर्णयहरुको निष्पक्षतामाथि प्रश्न उठ्यो भने यस्तो संस्थाप्रति जनताको विश्वास गुम्छ। यो चिन्ताको विषय हो।’
आफू अदालतको फैसलाका कारण बाहिरिनुपर्यो भनेर यस्ता कुरा नउठाइएको उनको स्पष्टीकरण छ।
उनले थपे, ‘जनताको अपेक्षा र संसदीय अंकगणितमा विरोधाभाष पैदा हुने रहेछ। यो नै समयको अन्त्य होइन, अटल विश्वास जनतामाथि थियो, र छ।’
उनले जनताको जनादेशले नभइ सर्वोच्चको परमादेशका कारण सरकारबाट बिदा लिएको बताए। त्यसैले आफू बाहिरिँदै गर्दा चिन्तित नभएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।