काठमाडौं- नेकपा (एमाले)को स्थायी कमिटी आज बस्दै छ। सोमबार केहीबेर बसेर बैठक आजका लागि तय भएको थियो।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नभएपछि बैठक रोक्न अनुरोध गर्दै बालुवाटार पुगेका नेपाल पक्षका नेता भीम रावल एमाले विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएर फर्किएका थिए।
स्थायी कमिटी बैठक आज १ बजे बालुवाटारमा बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। स्थायी कमिटीले केन्द्रीय कमिटी बैठक तय गर्ने उनले बताए।
आइतबार राति एमालेको विवाद समाधान कार्यदलले एकताका लागि भन्दै गरेको १० बुँदे सहमति गरेको थियो। आजको बैठकमा वरिष्ठ नेता नेपाललगायत सहभागी हुने एमाले सचिव प्रदीप ज्ञवालीले बताए।
सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई आज साँझ ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको अवस्थामा एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो।
देउवालाई प्रधामन्त्री बनाउनका लागि एमाले वरिष्ठ नेता नेपाल पक्षका सांसदहरुले पनि हस्ताक्षर गरेका थिए।
त्यसपछि नेपालपक्ष कांग्रेससहितको विपक्षी गठबन्धनमा सहभागी हुँदै आएको थियो। सोमबार सर्वोच्चको फैसलापछि बसेको विपक्षी गठबन्धनबाट नेपालपक्ष बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।