काठमाडाैं- बृहत् नागरिक आन्दोलनले केपी शर्मा ओली सरकारले गरेका सबै भ्रष्टाचार र अवैध कामको छानबिन गर्नुपर्ने जनाएको छ।
सोमबार विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले पटकपटक संसद विघटन गरेर जनविरोधी र असंवैधानिक हर्कतलाई निरन्तरता दिएकाे भन्दै छानबिन गर्नुपर्ने जनाएको हाे।
‘ओलीले जनमतको अपमान गर्दै अध्यादेशमार्फत असंवैधानिक नियुक्ति गरे। पदीय मर्यादा र क्षेत्राधिकार मिचेर राष्ट्रपतिले प्रधानमन्त्रीका स्वेच्छाचारी र गैरसंवैधानिक कदमलाई सदर गर्ने काम भए। कोरोना महामारीमा जनताले आधारभूत स्वास्थ्य उपचार नपाइरहेका बेला ओली सरकार ओम्नीदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्मका भ्रष्टाचारमा चुर्लुम्म डुब्यो। यस्तो गम्भीर राजनीतिक परिवेशमा ओली सरकारले गरेका सबै भ्रष्टाचार र अवैध कामको छानबिन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, अब गठन हुने सरकारले कोरोना महामारीका कारण आइपरेको गम्भीर राजनीतिक, आर्थिक, सामाजिकसांस्कृतिक संकटको हल गर्नुपर्ने बृहत् नागरिक आन्दोलनले सुझाव दिएको छ।
‘जनताका आधारभूत शिक्षा, स्वास्थ्य, सामाजिक न्यायजस्ता मौलिक हक सुश्चित गर्ने योजना ल्याउनुपर्छ। विकासका नाममा जनतालाई उठिबास लगाउने, मौलिक सभ्यता र संस्कृतिमाथि अतिक्रमण गर्ने, चुरेलगायत पर्यावरण बिनास गर्ने जनविरोधी क्रियाकलाप बन्द गनुपर्छ। अब बन्ने सरकारले श्रमजीवि, गरिब र किसानलाई शोषण, दमन र अत्याचारविरुद्ध योजना ल्याउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।