काठमाडौं- नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणालीका आधारभूत संरचना खल्बल्याएको टिप्पणी गरेको छ।
आज सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले सचिव प्रदीप ज्ञवालीले अदालतको फैसलाले शक्ति पृथकीकरणको सिद्धान्त र सन्तुलनलाई बिगार्ने काम गरेको बताए।
उनले आजको बैठकमा यस विषयमा गम्भीरतापूर्वक छलफल भएको र सबै सदस्यले धारणा राखेको बताए।
सरकार बनाउन संविधानमा व्यवस्था भएपनि अब सरकार बनाउने ठाउँ खोज्न अन्यत्रै जानुपर्ने अवस्था आएको बताए।
'सर्वाेच्चको आजको फैसला र विशेषगरी धारा ७६ (५) को जुन ढंगले व्याख्या गरिएको छ। मैले दु:खका साथ भन्नुपर्छ ३२ वर्ष अगाडि हामीले समाप्त गरेको निर्दलीय प्रणाली जस्केलाबाट छिर्न थालेको आभाष हामीलाई भएको छ', ज्ञवालीले भने, 'सारमा यो फैसलाले हाम्रो लाेकतान्त्रिक प्रणालीका, संसदीय प्रणालीका आधारभूत संरचनाहरूलाई खल्बल्याउने काम गरेको छ।'
यसका लागि औपचारिक धारणा बनाउन स्थायी कमिटीको बैठक भोलि पनि बस्ने ज्ञवालीले बताए।
सर्वाेच्च अदालतको फैसला जतिसुकै अप्रिय भएपनि फैसलाको कार्यान्वयन गर्ने उनले बताए। 'तर, यसले राष्ट्रिय राजनीतिलाई जुन दिशातिर लग्न खोजेको छ हामी एकदमै चिन्तित भएका छाैं। हामी तदअनरुप नै आगामी दिनमा प्रस्तुत हुनेछाैं।'
आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन।
बैठक रोक्न अनुरोध गर्दै बालुवाटार पुगेका नेपाल पक्षका नेता भीम रावल एमाले विवाद समाधान कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएर फर्किएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।