काठमाडौं- नेकपा (एमाले)का नेता भीम रावल बालुवाटारबाट बाहिरिएका छन्। उनी प्रधानमन्त्रीनिवास बालुवाटारमा तय नेकपा (एमाले)को स्थायी कमिटी बैठक रोक्न अनुरोध गर्ने भन्दै बालुवाटार पुगेको बताइएको थियो। यद्यपि, अहिले बालुवाटारमा बैठक जारी छ।
बालुवाटारबाट निस्किँदै गर्दा रावलले आफू कार्यदलको प्रतिवेनद बुझाउन आएको प्रतिक्रिया दिए। उनले प्रतिवेदन बुझाएर फर्किएको बताए।
'हामीले कार्यदलका तर्फबाट जुन प्रतिवेदन प्रस्तुत गरेका छाैं। त्यसलाई यथाशीघ्र इमान्दारिसाथ कार्यान्वयन गरेर हाम्रो पार्टीलाई सुदृढ बनाउने दिशातर्फ लैजानुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई अनुरोध गरेको छु', रावलले भने।
पार्टी भित्रको समस्या (विवाद) समाधानका सन्दर्भमा एकता कार्यदलका सदस्यले आइतबार राति १० बुँदे सहमति गरेको र सहमतिअनुसार पार्टी एकता 'सुदृढ गर्न' सोमबारको स्थायी कमिटी बैठक रोक्नुपर्ने मागसहित रावल बालुवाटार पुगेका उनी निकट नेताहरूले बताएका थिए।
नेता रावल एमाले एकता कार्यदलमा वरिष्ठ नेता माधव नेपाल पक्षबाट संयोजक थिए। रावलसमेत सहभागी आइतबारको कार्यदल बैठकले पार्टी भित्रको विवाद समाधानका सन्दर्भमा १० बुँदे सहमति गरेको थियो।
उक्त सहमतिका सन्दर्भमा शीर्ष नेतृत्व (अध्यक्ष ओली र नेता नेपाल)लाई जानकारी गराइ पार्टी भित्रको विवाद समाधान गर्ने कार्यदलका नेताहरुको भनाइ थियो। कार्यदलस्तरमा भएको सहमतिका विषयमा छलफल गर्न भनेर दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउने तयारी पनि गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।