काठमाडौं– नेकपा एमालेका नेता भीम रावल आज (सोमबार) बस्ने भनिएको स्थायी कमिटी बैठक रोक्न माग गर्दै बालुवाटर पुगेका छन्।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक रोक्न माग गर्न बालुवाटार पुगेका हुन्।
पार्टी भित्रको समस्या (विवाद) समाधानका सन्दर्भमा एकता कार्यदलका सदस्यले आइतबार राति १० बुँदे सहमति गरेको र सहमतिअनुसार पार्टी एकता 'सुदृढ गर्न' सोमबारको स्थायी कमिटी बैठक रोक्नुपर्ने मागसहित रावल बालुवाटार पुगेका उनी निकट स्रोतले जानकारी दियो।
नेता रावल एमाले एकता कार्यदलमा वरिष्ठ नेता माधव नेपाल पक्षबाट संयोजक थिए। रावलसमेत सहभागी आइतबारको कार्यदल बैठकले पार्टी भित्रको विवाद समाधानका सन्दर्भमा १० बुँदे सहमति गरेको थियो।
उक्त सहमतिका सन्दर्भमा शीर्ष नेतृत्व (अध्यक्ष ओली र नेता नेपाल)लाई जानकारी गराइ पार्टी भित्रको विवाद समाधान गर्ने कार्यदलका नेताहरुको भनाइ थियो।
कार्यदलस्तरमा भएको सहमतिका विषयमा छलफल गर्न भनेर दोस्रो तहका नेताहरुले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउने तयारी पनि गरेका थिए।
सोमबार २ शीर्ष नेताबीच भेटवार्ता नभएपछि रावल स्थायी कमिटी बैठक रोक्न माग गर्दै ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।