काठमाडौं- नेकपा (एमाले)ले सर्वाेच्च अदालतको फैसलाबारे आज बस्ने स्थायी कमिटी बैठकपछि मात्र औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ।
यसअघि नै आज साँझ ५ बजेका लागि स्थायी कमिटीको बैठक तय भएको र त्यसपछि मात्र अदालतको फैसलाबारे औपचारिक धारणा आउने एमाले कार्यलय सचिव शेरबहादुर तामाङले बताए।
यद्यपि, नेताहरूले व्यक्तिगत रुपमा भने विभिन्न माध्यमबाट आफ्ना धारणा राखिरहेका छन्। अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले फैसलाको विरोध गरिरहेका छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले स्वागत गरेका छन्।
सर्वोच्च अदालतले सोमबार संसद् पुन:स्थापना हुने फैसला सुनाएको हो। प्रतिनिधि सभाका १४६ जना सदस्यहरुले दायर गरेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले संसद् विघटनको निर्णय बदरभागी रहेको ठहर गरेको छ।
सर्वोच्चले १४६ जना सांसदहरुको रिटमा मागदाबी गरिएअनुसार नेपाली कांग्रेका सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश समेत जारी गरेको छ।
यस्तै, ७ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन पनि सर्वोच्चले परमादेश जारी गरेको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मेलित संवैधानिक इजलासले असार ९ गतेदेखि संसद् विघटनको मुद्दामा निरन्तर सुनुवाइ थालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।