काठमाडौं- सर्वाेच्च अदालतको फैसलासँगै पाँच विद्यार्थी संगठनले देशमा केपी शर्मा ओलीको निरंकुश, अधिनायकवादी र स्वेच्छाचारी शासनको अन्त्य भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वाेच्चको फैसलापछि विज्ञप्ति जारी गर्दै संयुक्त विद्यार्थीले संगठनले फैसलाबाट संविधानको सर्वोच्चता र विधिको शासनको पुनर्स्थापना भएको उल्लेख गरेका छन्।
'आजको संसद् पुनर्स्थापना गर्ने फैसलाले आगामी दिनमा हुन सक्ने प्रतिगमनकारी, स्वेच्छाचारी र अधिनायकवादी शासनमा समेत लगाम लगाइदिएको छ। यो ऐतिहासिक दिनमा हामी संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट सम्पूर्ण नेपाली जनतालाई बधाई दिन चाहन्छौं', विज्ञप्तिमा भनिएको छ।
कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, एमालेको माधवकुमार नेपालनिटक अनेरास्ववियु, जसपाको समाजवादी विद्यार्थी युनियन र जनमोर्चाको अखिल छैटाैंले विज्ञप्ति जारी गरेर आज देशभर स्वागत कार्यक्रम गर्न आह्वान समेत गरेका छन्।
'नेपालको विद्यार्थी आन्दोलन, जनताको आन्दोलन र सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जननिर्वाचित संसद् जोगिएको मात्रै छैन कि जनताको सार्वभौम अधिकारको सम्मान भएको छ', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।