पोखरा– पृथ्वी राजमार्गअन्तर्गत पोखरास्थित पृथ्वी चोकबाट आवतजावत गर्दा बाटो जाम हुने गर्दछ। त्यही जामलाई छल्न साना सवारी तथा पैदल यात्रुहरु वैकल्पिक बाटोका रुपमा तुल्सीघाट हुँदै नयाँ बजार निस्कने बाटो समाउँछन्। तर जब तुल्सीघाटको पुल कट्छ, उनीहरु तर्सन्छन्, हिलाम्मे बाटो देखेर।
सडक हो कि पोखरी छुट्टयाउन कठिन हुने उक्त सडकमा यात्रा गर्नेहरुको एउटै प्रश्न सुनिन्छ, ‘यो बाटो कहिले बन्छ?’
पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ९ को कार्यालय छेउमै सडकको दुरावस्था देख्न सकिन्छ। सडक छेउमै विद्यालय छ। पानी परेको होस् या घाम लागेको समय, विद्यालय आउने विद्यार्थीलाई समस्या हुन्छ। पानी पर्दा हिलो त पानी नपर्दा धुलो खेप्नु विद्यार्थी तथा अन्य पैदलयात्रीका लागि दैनिकीजस्तै बनेको छ।
नवप्रभात माध्यामिक विद्यालय, नयाँबजार अगाडिको यो सडकलाई थुप्रैपटक ग्रोबेल हालेर मर्मत गर्दै आइएको पाइन्छ। तर, त्यसले स्थायी समाधान भने दिन सकेको छैन। बाटो छेउमा पसल गर्दै आएकी लक्ष्मी रेग्मी भन्छिन्, ‘पानी पर्दा हिलो हुन्छ, नपर्दा धुलो हुन्छ। तीन÷चार वर्ष भयो कहिलेकाँही माटो ल्याएर पुरेजस्तो गर्छन्। तर, पानी पर्ने बित्तिकै फेरि त्यस्तै हुन्छ ।’
लामो समयदेखिको स्थानीय तथा अन्य सरोकारवालाहरुको दबाबले अन्ततः उक्त सडकको स्तरोन्नति हुने संकेत मिलेको छ। ९ नम्बर वडा कार्यालयले छिट्टै नै सडकको मर्मत गर्ने बताएको छ। कार्यालयले असार मसान्तभित्रै काम सक्ने गरी योजना ल्याएको वडाका सचिव लोकदर्शन कोइरालाले जानकारी दिए।
सचिव कोइरालाका अनुसार कार्यालयले सो सडक मर्मत गर्न नयाँ उपभोक्ता समिति नै गठन गरी प्रक्रिया अघि बढाएको छ। ‘पहिलेको उपभोक्ता समिति काम गर्दागर्दै निस्क्रिय भयो। त्यसबेला पनि ७० हजार बजेट बाँकी नै थियो, तर काम गरेनन्,’ उनले भने, ‘त्यो उपभोक्ता समिति खारेज गरेर नयाँ उपभोक्ता समिति बनाएका छौं।’
वडाले बाटो मर्मत गर्न ४१ लाख रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरेको छ। त्यसका लागि वडाले महानगरमा पनि योजना पेश गरिसकेको र महानगरपालिकाका कार्यकारी प्रमुखले तोक लगाइसकेको कोइरालाले जानकारी दिए। ‘मेयरसा’ब अहिले बाहिर जानु भएको छ, आश्वासन दिनु भएको छ,’ उनले भने, ‘उहाँ फर्किसकेपछि प्रक्रिया अगाडी बढ्नेछ।’
बाटोलाई अहिले पिच नगर्ने तर पानी जम्ने भएकाले ढल निकास र पिपिसी ढलान मात्र गर्ने वडाले बताएको छ। ‘पहिलो कुरा त ढल निकास छैन। जसकारण पानी जम्मा भएर हिलो हुन्छ। ढलको निकास गर्नुपर्ने भएकाले लागत खर्च बढी लाग्ने देखिएको हो।,’ सचिव कोइरालाले भने।
वडा सदस्य तथा उपभोक्ता समिति सदस्य समेत रहेकी राममाया मानन्धरले मेयरका कारण काम रोकिएको आरोप लगाइन्। उनले भनिन्, ‘मेयरसा‘बको अनुपस्थितीले काम सुरु गर्न स्विकृति मिलेको छैन।’ बाटो मर्मत योजनाको फाइलिङ लगायतका काम भइसकेका कारण काम पूरा हुनेमा ढुक्क रहन उनले विश्वास दिलाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।