फाइल तस्बिर
काठमाडौं। लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा दर्जनौं सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार कतिपय सडकखण्डमा पूर्ण रूपमा आवागमन बन्द गरिएको छ भने केही स्थानमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
वर्षाका कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा अर्को सूचना जारी नभएसम्म सबै सवारी साधनको आवागमन बन्द गरिएको छ। धादिङको पृथ्वीराजमार्ग पनि विभिन्न स्थानमा पहिरो गएपछि बन्द गरिएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ क्षेत्रमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ।
काभ्रेमा बीपी राजमार्गको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पहिरो गएपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका–८ पकुचामा अरनिको राजमार्ग पनि ढुंगासहितको पहिरो खसेपछि दुवैतर्फ अवरुद्ध भएको छ।
रसुवामा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने सडक अवरुद्ध भएको थियो। त्यसपछि आएको बाढीले सडकको अधिकांश भागमा क्षति पुर्याएको जनाइएको छ। त्रिशूली बजार, बेत्रावती बजार हुँदै रसुवागढी नाकासम्म जाने पासाङ ल्हामु राजमार्गको अधिकांश भाग कटान भएपछि स्याफ्रुबेँसीसम्म जान काठमाडौं–टोखा–छहरे–विदुर हुँदै वैकल्पिक सिंगल लेन कच्ची सडक प्रयोग गर्न सकिने जनाइएको छ।
विभिन्न जिल्लामा रातिको समयमा आवागमनमा रोक
नुवाकोटमा टोखा–छहरे सडकखण्डमा २०८३ भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिक तथा निजी सवारी साधनको आवागमन बन्द गरिएको छ।
कोशी प्रदेशका भोजपुर, सोलुखुम्बु र उदयपुरमा पनि निश्चित समयका लागि रातिको सवारी आवागमनमा रोक लगाइएको छ। भोजपुरमा मध्यपहाडी लोकमार्गमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म, सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म र उदयपुरमा कटारी–घुर्मी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
बागमती प्रदेशअन्तर्गत सिन्धुलीमा बीपी राजमार्गमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म, दोलखामा जिल्लाभरका सडकमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म र काभ्रेमा बीपी तथा अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारी साधनमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ। सिन्धुपाल्चोकमा पृथ्वी लोकमार्गमा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ।
चितवनमा नारायणगढ–मुग्लिन सडकखण्डमा र धादिङमा पृथ्वीराजमार्गमा अर्को सूचना जारी नभएसम्म सबै सवारी साधनको आवागमन बन्द गरिएको छ।
मकवानपुरमा समय तोकेर सवारी सञ्चालन
मकवानपुरमा पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भई सडकमा चाप बढेपछि त्रिभुवन राजपथमार्फत मालवाहक तथा यात्रुवाहक सवारी सञ्चालनको समय निर्धारण गरिएको छ।
हेटौँडाबाट काठमाडौं जाने सवारीका लागि चौकीटोलबाट २०८३ असोज ९ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म र असोज १० गते बिहान ४ बजेदेखि दिउँसो ८ बजेसम्म तथा राति १० बजेदेखि असोज ११ गते बिहान २ बजेसम्म सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।
काठमाडौं र हेटौँडाबीचको आवागमनमा पनि छुट्टाछुट्टै समय तोकिएको छ। इन्धन तथा एलपी ग्यास बोकेका बाहेक १० चक्काभन्दा लामो र १५ टनभन्दा बढी भार भएका मालवाहक सवारीलाई उक्त सडकखण्डमा पूर्ण रूपमा निषेध गरिएको छ। यात्रुवाहक सवारीका हकमा ११ मिटर लम्बाइसम्मका सवारीले मात्र त्रिभुवन राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ।
गण्डकी प्रदेशमा विभिन्न सडक बन्द
मनाङमा बेंसीसहर हुँदै खाङसार जाने सडक तथा लमजुङको सीमादेखि खाङसारसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। कास्की, मुस्ताङ र म्याग्दीमा पनि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। पर्वतमा पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाभित्र पर्ने करिब ५० किलोमिटर सडकखण्ड असोज ९ गते साँझ ७ बजेदेखि असोज १० गते बिहान ६ बजेसम्म बन्द गरिएको छ।
मनाङको नासो गाउँपालिका–३ खोत्रोमा पहिरो खसेपछि चामे–बेंसीसहर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ कालोभीर र लो–घेकर दामोदरकुण्ड गाउँपालिका–२ सेल्फीडाँडामा पहिरो तथा लेदो आएपछि जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएको छ।
बागलुङको निसीखोला गाउँपालिका–४ कानाबगरमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग तथा जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो गएपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। गुल्मीमा रिडी–तम्घास मदनभण्डारी राजमार्ग, रुद्रवेणी–वामीटक्सार सडकखण्ड र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका छन्।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ तिनधारे, सार्वजनिक शौचालय र बसपार्क क्षेत्रमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। तनहुँका व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीभीर, शुक्लागण्डकी नगरपालिका–७ सेराटार र बन्दीपुर गाउँपालिका–४ चुनपहरामा पहिरो खसेपछि पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि सडक अवरुद्ध
रोल्पाको माडी गाउँपालिका–३ गरगरेमा पहिरो खसेपछि घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रोल्पा नगरपालिका–७ माडीचौरस्थित मदन भण्डारी राजमार्गमा पनि भारी वर्षाको सम्भावनाका कारण सवारी आवागमनमा रोक लगाइएको छ।
कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कर्णाली राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। हुम्लाको सर्केगार्ड गाउँपालिका–१ खच्चामा पहिरो आएपछि कर्णाली करिडोर पनि अवरुद्ध भएको छ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ ऐरिछिनामा ठूलो ढुंगा खसेपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ। उक्त स्थानमा साना सवारी भने सञ्चालन हुन सक्ने जनाइएको छ। डोटीमा निरन्तर वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै असोज १० गते बिहान ७ बजेदेखि असोज ११ गते बिहान ७ बजेसम्म जिल्लाभर सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ टाकुर्चेमा लेदोसहितको पहिरो र पाङदुरडोलमा ढुंगा खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ। लमजुङको बेंसीसहर नगरपालिका–६ खरखरेभीरमा पहिरो खसेपछि बेंसीसहर–मनाङ सडकखण्ड अवरुद्ध भएको छ। मध्यनेपाल नगरपालिका–६ आँपचौरमा करिब १०० मिटर सडक भासिएपछि मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ।
नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिका–६ घुमाउरीघाटमा लेदोसहितको पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। पाल्पाको तानसेन नगरपालिका–१४ गाईघाटमा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।
दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङ–गनाहाखोला क्षेत्र, सहिदमार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डको तुलसीपुर–कालीमाटी क्षेत्रमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय घोराही, दाङले असोज ११ गते साँझ ६ बजेसम्म पूर्ण रूपमा बन्द रहनेसम्बन्धी सूचना जारी गरेको छ।
तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोलास्थित तुलसीपुर–घोराही सडकखण्डमा नयाँ पुल निर्माणका लागि खनिएको खाल्डोमा पुलमुनिको माटो खसेपछि पुरानो पुलबाट हुने आवागमन पनि पूर्ण रूपमा बन्द भएको छ।
उल्लिखित सडकखण्डमा वर्षा, पहिरो, बाढी तथा सडक भासिनेजस्ता कारणले आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।