काठमाडौं। हाल देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार राति देशका हिमाली तथा पहाडी भू–भागमा तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भू–भागमा आंशिक बदली रहनेछ। बाँकी तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।