काठमाडौं- प्रतिनिधि सभा विघटनका विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सात दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन परमादेश जारी गरेको छ। प्रतिनिधि सभा विघटनलाई बदर गर्दै अदालतले साउन ३ गते ५ बजेभित्र बैठक बोलाउन परमादेश जारी गरेको हो।
प्रतिनिधि सभाको विशेष अधिवेशन गत वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको थियो। तर, उनले विश्वासको मत पाएका थिएनन्। सोही दिन संसद् अधिवेशन अन्त्य गरिएको थियो।
सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको छ। देउवाले राष्ट्रपतिले तोकेको समयभित्रै जेठ ७ गते १४९ जना सांसद्को हस्ताक्षर सहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। तर, देउवाको दाबी समेतलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।