काठमाडौं- सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। सोमबार प्रतिनिधि सभा विघटन मुद्दामा फैसला सुनाउँदै सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो।
अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर समेत गरिदिएको छ।
देउवाले राष्ट्रपतिले तोकेको समयभित्रै जेठ ७ गते १४९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। तर, देउवाको दाबी समेतलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेकी थिइन्।
त्यसविरुद्ध देउवाको नेतृत्वमा प्रतिनिधि सभाका १४६ जनाले रिट दायर गरेका थिए। अन्य रिट पनि दायर गरेका थिए। १४६ जनाको रिटमाथि सर्वोच्चले सुनुवाइ गर्दै रिटमा माग भए बमोजिम आदेश जारी गरेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले यस्तो आदेश गरेको हो।
गत जेठ ७ गते राति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै कात्तिक-मंसिरको लागि मध्यावधि निर्वाचन आह्वान गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।