फाइल तस्वीर।
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ।
बैठकका लागि छलफल भइरहेपनि समय भने तय भएको छैन। आज सोमबार बेलुका ५ बजे एमाले स्थायी कमिटीको बैठक डाकिएकाले त्यसअघि नै नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्ने र आइतबार राति भएको १० बुँदे सहमतिप्रति साझा धारणा सार्वजनिक गर्ने तयारी छ।
नेपाल पक्षका केन्द्री सदस्य जगन्नाथ खतिवडाले सहमितमा उल्लेख भएका केही बुँदालाई स्वीकार गर्न नसकिने प्रतिक्रिया दिए। उनले गत फागुन २८ गते पछिका निर्णयको निरन्तरता भएको भन्दै यसलाई स्वीकार गर्न नसकिने बताए।
'हामीले फागुन २८ पछिका निर्णय सबै खारेज हुनुपर्छ भनेका थियाैं। तर, त्यसैको निरन्तरता दिने काम भयाे। विगतमा केपी ओलीले गरेका सबै कामलाई मान्यता दिनका निम्ति यो सम्झौता भएको देखिन्छ। यो कुरा स्वीकार गर्न सकिँदैन', खतिवडाले नेपाल लाइभसँग भने।
आइतबार राति नेपाल लाइभलाई प्रतिक्रिया दिँदै नेता नेपालले कार्यदलको सहमति ‘सकारात्मक’, रहेको बताएका थिए। तर, उनले ‘व्याख्यामा जालझेल भए स्वीकार गर्न नसकिने बताएका थिए।
नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् अदालतमा बुझाएको हस्ताक्षर कायमै रहेको बताएका थिए। उनले यसमा भ्रममा नपर्न आग्रह गरेका थिए। उनले अदालतलाई प्रभावमा पार्नेखालका कुनैपनि सहमति र व्याख्या स्वीकार गर्न नसकिने बताएका छन्।
यस्तै, नेपाल पक्षकै नेता रामकुमारी झाँक्रीले पनि हस्ताक्षर फिर्ता नहुने बताएकी छन्।
एकता कार्यदलले गएराति गरेको १० बुँदे सहमतिलाई लिएर नेपाल पक्षबाट मिश्रित प्रतिक्रिया आइरहेका छन्। आज केन्द्रीय कमिटीको बैठकपछि यसविषयमा आधिकारिक धारणा आउने नेताहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।