काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ।
एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले आइतबार राति १० बुँदे सहमति गरेपछि नेताद्वयबीच भेटवार्ताको तयारी भएको हो।
अध्यक्ष ओलीका तर्फबाट कार्यदलका संयोजक रहेका नेता सुवास नेम्वाङले ओली र नेपालबीच आज भेटवार्ताको सम्भावना रहेको बताए।
आइतबार राति सहमति भएलगत्तै प्रधानमन्त्री ओलीलाई नेता नेपालसँग भेट गर्न आफूहरुले आग्रह गरेको र ओली त्यसका लागि तयार रहेको उनले बताए। ओलीले 'फर्स्टआवर' मा नेता नेपालसँग भेट्छु भनेको भएपनि समय तय नभएको नेम्वाङको भनाइ छ।
'हिजो सहमति भए लगत्तै प्रधानमन्त्रीज्यूलाई माधव कमरेडलाई भेट्नुस् भन्यौं, उहाँले फर्स्टआवरमा भेट्छु भन्नु भएको हो, सायद आज भेट हुन सक्छ,' नेम्वाङले नेपाल लाइभसँग भने।
नेकपा एमालेले आजै अपराह्न ५ बजे स्थायी कमिटी बैठक बोलाएको छ। एकता कार्यदलले गरेको सहमतिअनुसार सबै कुरा अगाडि बढे वरिष्ठ नेता नेपालपक्षले स्थायी कमिटी बैठकमा सहभागी हुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।