काठमाडौं- एमाले विवाद मिलाउन केही दिनदेखि क्रियाशील रहेको कार्यदलको आइतबारको बैठकमा सहमति भएको छ। अर्थ मन्त्रालयमा झन्डै १३ घण्टासम्म बसेको बैठकले गरेको १० बुँदे सहमतिमा कार्यदलका सदस्यहरुले हस्ताक्षर गरेका छन्।
सहमतिमा प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतमा विचराधीन मुद्दाको बारेमा पनि उल्लेख छ। सुनुवाइ सकिएको सो मुद्दामा सोमबार फैसला हुँदैछ।
‘प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्नेछौं’, सहमतिको छैटौं बुँदामा भनिएको छ।
विघटनको फैसला पक्ष वा विपक्ष जे भएपछि त्यसलाई स्वीकार गरेर एमालेको संस्थागत निर्णय गरेर अघि बढ्ने आशय देखिन्छ। सो मुद्दामा एमालेका माधवकुमार नेपाल पक्षका २३ जनाको पनि हस्ताक्षर छ।
सर्वोच्च अदालतले १४६ जना सांसदको हस्ताक्षरलाई मन्यता दिँदै बहुमत सांसदको आधारमा प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवालाई सपथ लिनु भनेको अवस्था पनि पार्टीले संस्थागत निर्णय गरि आफ्नो धारणा सार्वजनिक गर्ने भनिएको छ।
एमाले एक ठाउँमा रहेको अवस्थामा अब विपक्षी गठबन्धन भत्किने देखिन्छ। विपक्षी गठबन्धनले सरकारको नेतृत्व पाएपछि अब विश्वासको मत लिने प्रक्रियामा के होला भन्ने अन्योल उत्पन्न भएको छ। यद्यपि, सर्वोच्चले अन्यथा फैसला गर्ने सम्भावना पनि छँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।