काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग एकताका लागि सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर र सर्वोच्चको फैसलालाई प्रभावित पार्ने कुनै पनि विषय आफूलाई मान्य नहुने बताएका छन्।
एमालेको एकता जोगाउन भन्दै अहिले सिंहदरबारमा ओली र नेपाल दुवैपक्षका नेता सम्मिलित कार्यदलको बैठक बसिरहेको छ। कार्यदलमा रहेका नेताहरुले आइतबार रातिसम्म सहमति हुने बताउँदै आएका छन्।
आइतबार राति नेपाल लाइभसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले कार्यदलस्तरमा भइरहेको वार्ताका क्रममा यी विषयलाई लिएर कुनै पनि सहमति भए त्यो आफूलाई मान्य नहुने बताए।
'मैले प्रष्ट भनेको छु, अदालतको फैसलामा प्रवेश गर्न खोजियो भने त्यो मानिँदैन', नेपालले भने, 'सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता र सर्वोच्चको फैसलालाई प्रभावित पार्ने कुनै काम र निर्णय हुन्न।'
नेपालले एमालेलाई जेठ २ मा फर्काउने, पार्टीका सम्पूर्ण संगठनलाई त्यहीअनुसार चलायमान पार्ने र ओलीपक्षले यसबीचमा गरेका सबै निर्णय फिर्ता लिनुपर्ने आफ्नो अडान यथावत रहेको उल्लेख गर्दै भने, 'अदालतमा बुझाएको हस्ताक्षर र अदालतको फैसलाबारे अहिले केही पनि नबोल्ने मेरो प्रष्ट अडान हो। स्वाभाविक रुपमा फैसला हुन दिने, फैसला भइसकेपछि त्यो फैसलाबारे के गर्ने भनेर पार्टीको बैठक बसेर निर्णय गर्नुपर्छ भन्ने मेरो प्रष्ट अडान हो।'
उनले राम्रो सहमति भए आफूले समर्थन गर्ने, नभए नगर्ने बताए। आफूले कार्यदलका सदस्यहरुलाई सहमतिका नाममा हतार नगर्न पनि भनेको उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।