काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको संयोजनमा बसेको युवा नेताहरुको बैठकले १४ महाधिवेशनमा पार्टी सभापतिका लागि संस्थापनइतरको साझा उम्मेदवार बनाउन थप सक्रियता बढाउने निष्कर्ष निकालेको छ।
संस्थापन पक्षको कार्यशैलीविरुद्द वैचारिक असहमति राख्नेहरु एक ढिक्का हुने पनि बैठकको निचोड छ। 'हाम्रो पक्षबाट जति जनाले लड्छु भन्नु भएको छ, एक ठाउँ ल्याऔं। हामी सबै त्यस कार्यका लागि लागौं भन्ने नै आजको बैठकको निष्कर्ष हो,' संयोजनकर्ता नेता केसीले भने,' मान्छेको नाममा हामी प्रवेश नै गरेका छैनौं। एक जना उम्मेदवार बन्ने स्थितिमा सबैले समर्थन गर्ने निष्कर्ष निस्केको छ।'
एकल उम्मेदवार बनाउने सन्दर्भमा विभिन्न मोडालिटीबारे थप छलफल गर्दै जाने केसीले बताए।
आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित एउटा पार्टी प्यालेसमा भएको छलफलमा युवा पुस्ताका नेताले अघिल्लो पुस्ताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने राखेका थिए।
सहभागीमध्ये केहीले सभापति बनाउनका लागि निश्चित मापदण्ड पार गर्नुपर्ने तर्क पनि राखेका थिए।
भेलामा संस्थापन इतरका दर्जन बढी युवा नेता सहभागी थिए। भेलामा दीपक गिरीलाई बोलाइ पनि उपस्थित हुन नसकेको बताइएको छ।
केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको दाबी आफ्नो पनि रहेकाले उक्त बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।