काठमाडौं– नेकपा एमालेका नेता वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने व्यवस्था हुनुपर्ने माग गरेका छन्। आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले यस्तो माग गरेका हुन्।
‘राष्ट्रिय सभा र प्रतिनिधि सभाको विभेद अन्त्य गर्नै पर्छ। बेलायतको नक्कल गर्दा यस्तो भएकाले यसलाई संशोधन गर्नुपर्छ,’ गौतमले भने ‘विगतमा राष्ट्रिय सभाको सदस्यलाई पनि प्रधानमन्त्री बनाउने व्यवस्था गरौं भन्दा मेरो चरित्र हत्या गरियो, संविधान संशोधन गरेर पनि यो गर्नुपर्ने थियो।’ गौतमले बजेट राष्ट्रिय सभामा पेस हुने व्यवस्था गर्न समेत माग गरे।
सडकमा बजेट प्रस्तुत गर्न हुने, तर संघीय संसदमा किन पेस हुन नहुने? भन्दै उनले यसका लागि कहाँ के संशोधन हुनुपर्ने हो, सोअनुसार संशोधन गर्न पनि माग गरे।
‘हललाई आवश्यक पर्छ र मैले भनेको मञ्जुर गर्छ भने पास गरौं। बजेट यहाँ आएर प्रस्तुत गर्ने व्यवस्था गरौं,’ उनले भने ‘नियमावलीमा परिर्वतन गरेर भएपनि गरौं। बाहिर सडकमा प्रस्तुत गर्न हुने तर राष्ट्रिय सभामा नहुने हुँदैन , त्यसैले यो आउनु पर्छ।’
बजेट जेठ १५ मा आउनुपर्ने संविधानको व्यवस्थाअनुसार आएको, तर बजेट प्रस्तुत भई पारित गर्नुपर्ने प्रतिनिधि सभा ८ दिन पहिला विघटन भएकाले राष्ट्रिय सभामा पेस हुनुपर्ने व्यवस्था आवश्यक भएको उनले दाबी गरे।
‘अर्थमन्त्रीले बजेट कहाँ प्रस्तुत गर्नुभयो टिभीमा, संसदमा आएन। संघीय संसदको एउटा हिस्सा राष्ट्रिय सभा पनि हो। त्यो (बजेट) यहाँ प्रस्तुत किन गर्न सकिँदैन थियो?' गौतमले भने, ‘संसदको एक हिस्सा हो भने यहाँ प्रस्तुत गर्ने व्यवस्था गरौं।'
पार्टीको घोषणापत्र अनुसार विगतमा बजेट नआएको भन्दै गौतमले आफूले घोषणापत्रमा लाग्दा चुनाव हार्नु परेको सम्झना गरे। विगतमा नेकपा सरकारले ल्याएको बजेट 'समाजवाद भनेको वितरण र पूँजीवाद भनेको उत्पादन हो' भनेर गलत रुपमा आएको उनले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।