काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई प्रभावित पार्ने र सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिने दुवै काम आफूबाट नहुने बताएका छन्।
एमालेको एकता जोगाउने भन्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षका नेता सम्मिलित एकता कार्यदलले ‘अन्तिम सहमति’ जुटिसकेको दाबी गरेका बेला नेपालको यस्तो टिप्पणी आएको हो।
‘के कुरा मिलेको छ या मिलेको छैन, त्यो मलाई थाहा छैन, त्यो उहाँहरुलाई नै थाहा होला। हाम्रो बटमलाइन दुई कुरामा छ’, नेपालले शनिबार साँझ नेपाल लाइभसँग भने, ‘अदालतलाई प्रभाव पार्ने कुरा सम्भव छैन, अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्ने कुरै छैन।’
उनले यसबारे कसैलाई भ्रममा नपर्नसमेत आग्रह गरे। ‘यो कुरा क्लियर छ, कोही भ्रममा नपरौं’, नेपालले भने।
शनिबार साँझ बसेको एमालेको एकता कार्यदलको बैठकपछि कार्यदलका सदस्यहरुले एकतामा अबरोध बनेका लगभग सबै विषय मिलिसकेको र मस्यौदामा केही कुरा मिलाउन मात्र बाँकी रहेकाले त्यसलाई आइतबार अन्तिम रुप दिने बताएका थिए। कार्यदलमा नेपाल पक्षबाट सदस्य रहेका गोकर्ण विष्टले आइतबार पार्टी पंक्तिले एकताको शुभ सन्देश सुन्न पाउने बताए।
त्यस्तै कार्यदलमा ओली पक्षबाट संयोजक रहेका सुवास नेम्वाङले पनि आइतबार एकताको समाचार सुन्न पाइने बताएका थिए।
कार्यदलले शुक्रबारसम्म गरेका सहमतिबारे जानकारी दिँदै कार्यदलका एक सदस्यले अरु सबै विषय मिलिसकेको र मुख्यतः अदालतमा रहेको हस्ताक्षरबारे कस्तो भाषा प्रयोग गर्ने भन्ने टुंग्याउन बाँकी रहेको बताएका थिए। कार्यदलका सदस्यहरुले शनिबार यसबारे प्रष्ट उल्लेख गरेका छैनन्, तर ‘कुरा मिलिसकेको’ संकेत गरेका छन्।
निकट नेताहरुसँग नेपालले एकता प्रयासमा मुख्यतः सर्वोच्चको फैसलालाई प्रभावित पार्न खोजिएको बताउने गरेका छन्। पर्सिसम्म त सर्वोच्चको फैसला पनि आउला, त्यसपछि चाहिँ के गर्नुहुन्छ नि? नेपाल लाइभको यो प्रश्नमा नेपालले भने, ‘फैसलापछिको कुरा फैसलापछि नै हेरौंला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।