काठमाडौं- नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले भोलि आइतबार बिहान एमाले एकता टुंगिने दाबी गरेका छन्।
शनिबार सिंहदरबारमा बसेको एमाले एकता कार्यदलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक समेत रहेका नेम्वाङले भाेलि बिहान ८ बजे एकताको समाचार सुन्न पाउने बताए।
'हामीलाई बधाई दिए हुन्छ। धन्यवाद दिए हुन्छ। भोलि बिहान ८ बजे तपाइँहरूले सुखद् समाचार सुन्न पाउनुहुनेछ', नेम्वाङले भने।
कार्यदल सदस्य गोकर्ण विष्टले पनि आइतबार सहमति हुने दाबी गरे। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आइतबार एकताकाे सन्देश दिने जिकिर गरे।
'गम्भीरतासाथ एकले अर्काको मनोविज्ञान बुझ्दै छलफल गर्याैँ। अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौं। अब हामीसँग छलफलका त्यति धेरै विषय छैनन्। लगभग हामी समस्यालाई समग्रतामै समाधान खोज्ने विन्दुमा आइपुगेका छौं', विष्टले भने, 'यद्यपि, त्यो प्रकारको समाचार घोषणा गर्न सकिरहेका छैनौं। भोलिको दिन पार्टी एकताको सन्देश दिन हामी सफलता प्राप्त गर्नेछौं। अब केही मिलाउने, औपचारिकता दिलाउने काम मात्र बाँकी छ। त्यो भोलि हुन्छ।'
यसअघि कार्यदलले आज शनिबार ‘अन्तिम सहमति’लाई टुंगोमा पुर्याउने बताएको थियो। शुक्रबार झण्डै ८ घण्टा भएको छलफलपछि नेताहरूले कार्यदलमा सहमति भएको र शनिबार अन्तिम रुप दिने बताएका थिए। तर, शनिबार पनि कार्यदल सहमति सार्वजनिक गर्ने तहमा भने पुग्न सकेन।
केही विषय मात्र मिलाउन बाँकी रहेको कार्यदलमा रहेका दुवै पक्षका नेताहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।