काठमाडौं- नेकपा (एमाले) को विवाद समाधान कार्यदलले शनिबार पनि ‘अन्तिम सहमति’लाई टुंगोमा पुर्याउन सकेन। यसअघि शुक्रबार झण्डै ८ घण्टा भएको छलफलपछि नेताहरूले कार्यदलमा सहमति भएको र शनिबार अन्तिम रुप दिने बताएका थिए। तर, शनिबार पनि कार्यदल सहमति सार्वजनिक गर्ने तहमा पुग्न सकेन।
कार्यदल सदस्य गोकर्ण विष्टले भने अब आइतबार सहमति हुने दाबी गरे। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आइतबार एकताकाे सन्देश दिने जिकिर गरे।
'गम्भीरतासाथ एकले अर्काको मनोविज्ञान बुझ्दै छलफल गर्याैँ। अन्तिम अन्तिम अवस्थामा आइपुगेका छौं। अब हामीसँग छलफलका त्यति धेरै विषय छैनन्। लगभग हामी समस्यालाई समग्रतामै समाधान खोज्ने विन्दुमा आइपुगेका छौं', विष्टले भने, 'यद्यपि, त्यो प्रकारको समाचार घोषणा गर्न सकिरहेका छैनौं। भोलिको दिन पार्टी एकताको सन्देश दिन हामी सफलता प्राप्त गर्नेछौं। अब केही मिलाउने, औपचारिकता दिलाउने काम मात्र बाँकी छ। त्यो भोलि हुन्छ।'
भोलि आइतबार केहीछिन बसेर सार्थक निष्कर्षमा पुग्ने विष्टले बताए। पार्टीभित्र केही समयदेखि देखिएका असहज र असामान्य पस्थितिलाई मिलाउनुपर्ने भएकाले समय लागेको उनको भनाइ छ।
'अविश्वास हटेको छ, विश्वासको वातावरण बनेको छ। लगभग अन्तिम निष्कर्षमा आएका छौं। सुखद् समाचार सुन्नका लागि भोलिभन्दार पर जानुपर्दैन', विष्टले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।