काठमाडौं- नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको औपचारिक बैठक नबस्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू सिंहदरबारबाट बाहिरिएका छन्। कार्यदलमा रहेका नेपाल पक्षका पाँचैजना नेताहरू सिंहदरबारबाट बाहिरिएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू भने सिंहदरबारमै छन्। 'केही परामर्श गर्नुपर्ने छ। त्यसका लागि हामी निस्किएका हाैं। हामी एक/दुई घण्टामा फर्किन्छौं', नेपाल पक्षबाट कार्यदल सदस्य रहेका गोकर्ण विष्टले भने।
उनीहरू नेता नेपालसँग परामर्श गर्न गएको बुझिएको छ। कार्यदलका दुवैतर्फका सदस्यहरूले केहीबेर अनौपचारिक छलफल गरेका थिए। त्यसपछि नेपाल पक्षका पाँचैजना बाहिरिएका हुन्।
कार्यदलले आज सहमतिको मस्याैदालाई सार्वजनिक गर्ने बताएको छ। शुक्रबारको बैठकमा विवादित विषयमा सहमति भएको नेताहरूले दाबी गरेका थिए।
कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने उनीहरूको छ। एकता कार्यदलले एमालेको एकता जोगाउने बटमलाइन भनिएको पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा सहमति जुटाएको जनाइएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभाको विघटनपछि एमालेमा विवाद बल्झिएको थियो।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए।
एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागदाबीसहित सर्वोच्चमा दायर रिटमा समावेश एमाले सांसदका हस्ताक्षर फिर्ताबारे कार्यदलमा महत्त्वपूर्ण सहमति भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।