काठमाडौं- नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ।
कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर आज सार्वजनिक गरिने तयारी गरिएको कार्यदल सदस्य प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
एकता कार्यदलले एमालेको एकता जोगाउने बटमलाइन भनिएको पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा सहमति जुटाएको जनाइएको छ।
पहिले सक्रिय भएर डेढ महिना अघि बिथोलिएको र यही साता पुनः सक्रिय बनाइएको कार्यदलले शुक्रबार करिब ८ घण्टा लामो बैठकपछि यो सहमति जुटाएको नेताहरुले बताएका छन्।
सिंहदरबारमा आठ घण्टा चलेको बैठकपछि नेताहरुले सहमति जुटेको र त्यसमा केही भाषागत विषय मिलाउनुपर्ने भएकाले सहमतिलाई शनिबार अन्तिम रुप दिएर सार्वजनिक गरिने बताए।
कार्यदल सदस्य गोकर्ण विष्टले केही विषयमात्र टुंगिन बाँकी रहेको र ती विषय शनिबार टुंगिने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनएपछि एमालेमा विवाद बल्झिएको थियो। प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए।
एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागदाबीसहित सर्वोच्चमा दायर रिटमा समावेश एमाले सांसदका हस्ताक्षर फिर्ताबारे कार्यदलमा महत्वपूर्ण सहमति भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।