काठमाडौं- नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा एमालेलाई एकताबद्ध राख्ने सहमति जुटेको नेताहरुले बताएका छन्।
शुक्रबार करिब ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका अजेण्डामा सहमति जुटाएको दाबी नेताहरुले गरेका हुन्।
बैठकपछि कार्यदलका सदस्य एवं एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिइने बताए।
कार्यदलको बैठकपछि कार्यदलका सदस्य प्रदीप ज्ञवालीले पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेको बताए। 'सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन, त्यसका केही थोरै भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएको कारणले भोलिसम्मका लागि हामीले बैठक स्थगित गरेका छौं। अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्याएका छौं,' उनले भने, 'आजको छलफल सकारात्मक सौहार्द्र र रचनात्मक रह्यो। भोलि सहमति फाइनल गर्छौं।'
अर्का सदस्य गोकर्ण विष्टले एकाध विषय मात्र टुंगिन बाँकी रहेको बताए। 'धेरै लामो समय बसेका कारणले बाँकी रहेका विषयमा भोलि बसौं भन्ने कारणले आज बैठक स्थगन भएको छ। लगभग हामी सहमतिमा पुगेका छौं,' उनले भने, 'हामीले छलफल गरिहेका आधा दर्जन विषयमध्ये धेरै विषयमा सहमति भएको छ। एकाध विषय बाँकी छ। ती भोलि टुंगो लगाउँछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।