काठमाडौं– नेपाली कांग्रेस वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएको ससस्या समाधानमा प्रधानमन्त्री केपी शर्मा ओली भूमिकाशून्य भएर बसेको आरोप लगएको छ।
प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीले विभिन्न माग राखेर गरिरहेको आन्दोलन १ महिना पुग्न लाग्दा समेत प्रतिष्ठानका कुलपति प्रधानमन्त्रीले विषयलाई गम्भीरतापूर्वक लिएर समाधानको पहल नगरेकोमा पनि कांग्रेसले दु:ख व्यक्त गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भनेका छन्– 'प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शुन्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैर जिम्मेवारी हो।'
कोभिड महामारी चलिरहेको बेला स्वास्थ प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद भएको पनि शर्माले विज्ञप्तीमा उल्लेख गरेका छन्।
कांग्रेसले आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरुसँग सार्थक संवादमार्फत् जायज माग अविलम्ब सम्बोधन गर्न पनि माग गरेको छ।
'प्रतिष्ठानको प्रतिष्ठा र भविष्यका लागि अहोरात्र कार्य गरिरहेकाहरुको भावनामा चोट पुयाएर केवल भौतिक संरचनामा संस्थाको भविष्य सुरक्षित गर्न सकिन्न,' कांग्रेस प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'अतः आन्दोलनमा सरिक चिकित्सक, कर्मचारी र विद्यार्थीहरुसँग सार्थक संवादमार्फत जायज माग अविलम्ब सम्बोधन गरेर प्रतिष्ठानभित्र सहज वातावरण निर्माण गर्न नेपाली कांग्रेस कुलपति प्रधानमन्त्रीसँग माग गर्दछ।'

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।