काठमाडौं- नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदलका संयोजक रहेका नेता सुवास नेम्वाङले आज विहान साढे ११ बजे बैठक बस्ने जानकारी दिए।
बिहीबार दुई चरणमा बसेको बैठकमा विवाद समाधानका बारेमा कुनै सहमति हुन नसकेपछि थप छलफलका लागि आज बैठक बोलाइएको हो।
थप गृहकार्यका लागि भनेर बिहीबार बिहानको बैठकबाट उठेका कार्यदलका सदस्यहरु साँझ सिंहदरबारमा बसेका थिए। तर, बैठक विषय प्रवेश नै नगरी स्थगित भएको कार्यदलका सदस्य एवम् एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताए।
पार्टी भित्र देखिएको विवाद समाधान गरी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको हस्ताक्षरमा संयुक्त विज्ञप्ती जारी गर्ने गरी कार्यदलका सदस्यहरु छलफलमा छन्। यसबीचमा बुधबार अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता समेत भएको थियो।
कार्यदलमा रहेका नेताहरुले अध्यक्ष ओली र नेपालबीच बुधबार सकारात्मक वार्ता भएको र छिट्टै पार्टी एकतामा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउँदै आएका थिए। बिहीबार साँझको छलफलपछि निष्कर्षमा पुग्ने भनिएपनि कुरा मिल्न नसकेको हो।
नेता नेम्वाङले आज बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
कार्यदलमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ संयोजकसहित विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। यस्तै, नेपाल पक्षबाट भीम रावल संयोजकसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन्।
एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो।
अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसद्ले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।