काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले वेदको रचना नेपालमै भएको र यसमा गर्व गर्नुपर्ने बताएका छन्। उनले नेपालीले आफ्नो गौरवपूर्ण इतिहासलाई संरक्षण सम्बर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए।
बिहीबार बालुवाटारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वजहरुले कयौं परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुशरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताए।
मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गरेर नयाँ आविष्कार गर्दै जानुपर्नेमा ओलीको भनाइ छ।
अनुकूल हावापानी र विविध भौगोलिक अवस्था भएका कारण हिमाली, पहाडी र तराईको हावापानी अनुसारका वस्तु उत्पादन गर्न सकिने प्रधानमन्त्री ओलीले बताए।
उनले कार्यक्रममा पुराना ज्ञानहरु अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधि कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाए।
सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी मोर्चामा संलग्न नेता तथा तिनका क्रियाकलापको साथै आफ्नै पार्टीका नेताहरुको तिखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओलीले बिहीबारको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधिहरुको वेलिविस्तार लगाए।
उनले पूर्वजहरुको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको स्पष्ट पारे। कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।