काठमाडौं– नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन्।
बिहीबार सिंहदरबारमा बसेको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको र आजै साँझसम्ममा सहमतिमा पुग्ने नेताहरुले दाबी गरेका छन्।
बैठकपछि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट कार्यदल सदस्य रहेका नेता गोकर्ण विष्टले बैठकमा प्रगति भएको र बाँकी रहेका केही कुरामा बेलुकासम्ममा टुंगोमा पुग्ने दाबी गरे।
‘कतिपय विषयमा मोटामोटी हिजोभन्दा आज थप प्रगति भएको छ, केही कुरामा बाँकी छ। ति कुरालाई टुंगो लगाउने गरि आज बेलुका नै अर्को बैठकको आयोजना गर्ने गरि बैठक स्थगित भएको छ’ आजै सहमति हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘समयको हिसाबमा एकिनका साथ त्यसो नभनौं, दुई–चार, पाँच–सात घन्टा छलफलले समय लिन सक्छ। तर, हामी निष्कर्षमा पुग्नका लागि अब लामो समय लाग्दैन। लगभग–लगभग समाधानको बिन्दूमा आएका छौं।’
हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको सम्वादपछि बसेको आजको बैठकमा दुई जनाबीच भएको सम्वादलाई मध्यनजर गर्दै कार्यदलले औपचारिक/अनौपचारिक रुपमा उठेका विषयमा छलफल गरेको उनले बताए।
आज बेलुकासम्ममा पार्टी विवादबारे समाधान खोज्नेमा आफू आशावादी भएको विष्टले बताए। ‘आज बेलुका धेरै हदसम्म समाधान खोज्छौ। म आशावादी छु कि अब हामीलाई धेरै समय लाग्नेवाला छैन’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।