काठमाडौं- नेकपाका एमालेभित्रको संकट टार्ने प्रयत्नस्वरुप एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजै भेटवार्ता हुनलागेको छ।
ओली र नेपालबीच केही बेरपछि काठमाडौंको होटल मेरियटमा भेट हुनलागेको हो।
बुधबार एमाले एकता जोगाउन गठित कार्यदलले विवादका विषय टुंगो लगाएको जनाएको थियो। त्यसलाई अन्तिम रुप दिन बुधबार नै ओली र नेपालबीच भेट गराउनेसमेत कार्यदलका सदस्यहरुले बताएका थिए।
यसअघि एमाले कार्यदलका सदस्यहरु एमालेभित्र देखिएको गतिरोध अन्त्यका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गराउन सक्रिय भएका थिए। दुई नेताबीच आजै भेटवार्ता हुने र भेटवार्ताको समय एवं स्थान केहीबेरपछि तय हुने एमाले विवाद समाधान कार्यदलका एक सदस्यले बताएका थिए। दुई नेताबीच भेट गराउन कार्यदलका रहेका दुवैतर्फका नेताहरू जुटेका थिए
बुधबार नै सिंहदरबारमा बसेको कार्यदलको बैठकले सहमतिको खाका तयार पारेको हो। बैठकपछि दुवै पक्षका नेताहरूले छलफल निष्कर्षउन्मुख रहेको दाबी गरेका थिए। उनीहरूले दुवै नेताको भेटवार्ता गरेर सहमतिलाई अन्तिम रूप दिने बताएका थिए।
पछिल्लो तीन दिनयता कार्यदलको निरन्तर बैठक बस्दै आएको छ। बैठक बिहीबार बिहान ११ बजेपनि बस्ने तय भएको छ। नेताहरूले त्यसअघि नै सहमतिलाई मूर्तरुप दिएर बिहीबारको बैठकलाई अन्तिम बनाउने तयारी गरिरहेका छन्।
गएको जेठ २ गतेयता ओली र नेपालबीच भेटवार्ता भएको छैन। जेठ गते सिंहदरबारमा भएको संवादपछि कार्यदल गठन गरिएको थियो। तर, एमालेभित्रको विवाद चुलिएसँगै कार्यदल पछिल्लो समय निष्क्रिय बनेको थियो। कार्यदललाई सोमबार ब्युँताइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।