काठमाडौं– विश्वकप फुटबल प्रतियोगितामा एसियन देशको उपस्थिति कमजोर हुँदै आएको छ। विश्वकपको २१ औं संस्करण आइपुग्दा एसियाका १२ टिमले मात्र भाग लिने अवसर पाएका छन्।
सुरुवाती २ संस्करणमा एसियन टिम सहभागी थिएनन्। सन् १९३८ को तेस्रो संस्करणमा इन्डोनेसियाले सहभागिता जनाएर इतिहास बनायो। इन्डोनेसियाले त्यसयता विश्वकपमा सहभागिता जनाउन सकेको छैन।
ब्राजिलमा सन् १९५० मा आयोजना भएको विश्वकपमा भने एसियन राष्ट्र सहभागी भएनन्। सन् १९५४ मा स्विजरल्यान्डमा भएको विश्वकपमा दक्षिण कोरियाले भाग लियो। कोरिया विश्वकप खेल्ने दोस्रो एसियन टिम बनेको थियो। त्यसयता उसले १० पटक विश्वकपमा स्थान बनाएको छ। कोरिया नै विश्वकप बढी खेल्ने एसियन राष्ट्र हो।
सन् १९५८ र १९९२ को विश्वकपमा पनि एसियन राष्ट्रको सहभागिता रहेन। सन् १९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकपमा उत्तर कोरिया सहभागी बन्यो। सन् १९७० मा इजरायलले एसियको तर्फबाट विश्वकप खेलेको थियो। हाल इजरायलले युरोपबाट फुटबल खेल्छ।
सन् १९७४ मा पनि एसियन राष्ट्रले सहभागीता जनाएनन्। सन् १९७८ यता भने लगातार रुपमा एसियन राष्ट्र विश्वकपमा सहभागी छन्। तर उपस्थिति भने कमजोर छ।
एसियाले अहिलेसम्म एकपटक सन् २००२ मा (जापान र दक्षिण कोरिया) मात्र विश्वकप आयोजना गरेको छ।
विश्वकपमा एसियन टिमको प्रदर्शन पनि कमजोर छ। दक्षिण कोरियाले सन् २००२ मा चौथो स्थान हात पार्नु अहिलेसम्मकै ठूलो उपलब्धि हो। यस्तै उत्तर कोरिया सन् १९६६ मा क्वर्टरफाइनलमा पुग्नु एसियन टिमको अर्को उपलब्धि हो। यसबाहेक अन्य टिमले अहिलेसम्म अन्तिम १६ काट्न सकेका छैनन्।

रुसमा जेठ ३१ देखि हुने विश्वकपमा ५ वटा एसियाली राष्ट्र सहभागी छन्। विश्व फुटबल महासंघ (फिफा) को नियमअनुसार विश्वकपमा एसियाबाट ४ देशले सिधै स्थान बनाउने प्रावधान रहेको छ। एउटा देशले भने प्लेअफ खेल्न पाउने नियम छ।
एसियाबाट सिधै छनोट हुने ४ राष्ट्रमा कोरिया, जापान, इरान र साउदी अरेबिया रहेका छन्।
दक्षिण कोरिया र जापानले नियमित विश्वकपमा स्थान बनाउँदा साउदी अरेबिया १२ वर्षपछि विश्वकपमा फर्किएको छ।
यसपालि २००६ देखि नियमित विश्वकप खेल्दै आइरहेको अस्ट्रेलिया प्लेअफ खेल्न विवश बन्यो। उसले प्लेअफमा होन्डुरसलाई पराजित गर्दै विश्वकपको टिकट काटेको थियो।
कोरिया १९८६ देखि अनवरत विश्वकप खेल्दै आइरहेको छ। यो उसको दशौं विश्वकप सहभागिता हो।
जापान १९९८ देखि नियमित विश्वकपको टोली हो। जापानको पनि यो छैटौं विश्वकप सहभागिता हो।
इरान २०१४ मा पनि विश्वकपमा देखा परेको थियो। इरानको पाँचौ विश्वकप सहभागिता हो।
साउदी २००६ पछि विश्वकपमा देखा पर्न लागेको हो। उसको पनि यो पाँचौ विश्वकप सहभागिता हो।
अस्ट्रेलिया सन् २००६ देखि लगातार विश्वकप खेल्दै आएको छ। अस्ट्रेलियाकव पनि यो पाँचौ उपस्थित हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।