काठमाडौं- नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै एमालेमा रहेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोग जाने भएका छन्।
माओवादीले लामो समयदेखि महाधिवेशन नगरेर अवैध रुपमा चलिरहेको र त्यस्तो अवैधानिक पार्टीले आफूहरूलाई कारबाही गर्न नसक्ने उनीहरूको भनाइ छ।
अवैधानिक रुपमा चलेको पार्टीले आफूहरूलाई कारबाही नमिल्ने दाबीसहित दिउँसो साढे १२ बजे आयोग जान लागिएको पूर्वमाओवादी नेता प्रभु साहले बताए।
'माओवादी पार्टीले अहिलेसम्म महाधिवेशन गरेको छैन। राजनीतिक दल सम्बन्धी विधान बमोजिम पूरा नगरेको पार्टी नै अवैधानिक छ। त्यस्तो पार्टीले हामीलाई कसरी कारबाही गर्न मिल्छ?', साहले भने, 'त्यो कारबाही अवैधानिक छ भनेर साढे १२ बजे निर्वाचन आयोग जाँदैछौं। अवैधानिक पार्टीले सांसदबाट निकाल्न सक्दैन भन्ने हाम्रो दाबी हो।'
साहसहित लेखराज भट्ट, टोपबहादुर रायमाझी र गौरीशंकर थारु आयोग जान लागेका हुन्। यसमा विषयमा उनीहरूले बिहान १० बजेदेखि परामर्श गरिरहेका छ्न्।
माओवादीले राष्ट्रिय सभा सदस्य रामबहादुर थापा 'बादल' र रायमाझीसहितका प्रतिनिधि सदस्य चार जना तथा प्रदेशबाट ८ जना एमाले प्रवेश गरेको भन्दै कारबाही गरेको थियो।
यसअघि सर्वोच्च अदालतले एमालेको १०औं महाधिवेशन आयोजक कमिटी खरेज गरेपछि एमालेभित्रका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोग पुगेर आफूहरू कुन दलका हौं भनेर सोधेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।