काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा उनी पक्षीय भीमबहादुर साउदलाई जिल्ला सभापतिको दाबेदारमा अघि सार्ने तयारी गरिएको छ।
आसन्न जिल्ला अधिवेशनमा संस्थापनपक्षले साउदलाई उठाउने तयारी गरेको छ। जिल्ला सभापति कर्णबहादुर मल्लपक्षले भने कर्णाकर भट्टलाई अघि सार्ने तयारी गरेको छ। हालका जिल्ला सभापति मल्लको दोस्रो कार्यकाल भएकाले उनी दोहोरिन पाउँदैनन्। मल्ल संस्थापनइतर हुन्।
देउवा पक्षबाट सभापतिमा दाबी गरेका साउद परशुराम नगरपालिकाका मेयरका साथै निर्माण व्यवसायी पनि हुन्। संस्थापनइतरबाट आकांक्षी रहेका कर्णाकर हालको कार्यसमितिका उपसभापति हुन्। पार्टी सभापति देउवाको समर्थन पाएका साउदलाई जित निकाल्न सहज हुने डडेल्धुरामा कार्यरत पत्रकार ललित बोहराले जानकारी दिए।
डडेल्धुरामा पूर्व र वर्तमान सभापति पक्षधरको प्रतिस्पर्धा हुने भएको हो। पूर्व सभापति रघुवर भट्ट संस्थापन पक्षका हुन्। उनको समूहले वर्तमान सभापति मल्लको पक्षसँग प्रतिस्पर्धा गर्ने भएको छ। सर्वसहमति भए रघुवर आफैं अघि बढ्ने तयारीमा छन्। सर्वसहमति हुन सकेन भने साउदलाई उनको सहयोग हुने बताइएको छ।
गन्यापधुरा गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कार्यसमिति सदस्य नवलबहादुर मल्ल पनि सभापतिका आकांक्षी छन्। अधिवक्ता तथा जिल्ला कार्यसमिति सदस्य रोहित देउवाले पनि सभापति बन्ने इच्छा देखाएका छन्। हरि भट्ट र रोहित देउवाले कुनै समूहमा नरहेको दाबीसहित तेस्रो प्यानल बनाउने कोसिसमा छन्। भट्ट कानुन व्यवसायी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।