काठमाडौं– नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आजपनि बस्दैछ। बुधबार विहान आठ बजे बस्ने भनिएको बैठक साढे १० बजेपछिलाई सारिएको कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिए। बैठक सिंहदरबारमा बस्दैछ।
एमालेमा देखिएको विवाद समाधानका लागि केही समय अघि गठन भएको कार्यदल निष्क्रिय थियो तर सोमबारदेखि कार्यदल फेरि सक्रिय भएको छ। कार्यदल सक्रिय भएसँगै लगातार दुई दिन छलफल भएको छ। सोमबार र मंगलबार भएका छलफल सकारात्मक भएको नेताहरुले बताएका छन्।
मंगलबारको बैठकमा विषयप्रवेश भएको र अब छलफलले ठोस रुप लिने कार्यदलका संयोजक भीम रावलले जानकारी दिए। आजबाट विवादका विषयमा ठोस सहमति खोजिने उनले बताए। 'कसरी अघि जान सक्छौं भनेर बुधबार छलफल गर्छौं, त्यसका सन्दर्भमा थप विचार र दृष्टिकोणका साथ, टुंगो तुरुन्तै नलागने पनि समस्या समाधनको दिशामा अघि बढेका छौं,' उनले भने।
कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।