काठमाडौं- नेकपा (एमाले) एकता कार्यदलको औपचारिक बैठक मंगलबार विषयमा प्रवेश गरेको छ। दुई दिनदेखि भइरहेको बैठक मंगलबार विषयमा प्रवेश गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच रहेको विवादका विषयमाथि मंगलबारको बैठकमा कार्यदलका सदस्यहरुले धारणा राखेका छन्।
विषयमाथि राखिएका धारणाले दुई पक्षबीच रहेका असहमतिमा सहमति खोज्न सकिने आधारहरु भेटिएको वार्तामा सहभागी नेताहरुले बताएका छन्।
माधवकुमार नेपाल पक्षबाट कार्यदलका संयोजक रहेका नेता भीम रावलले बैठकमा कार्यदल पुनर्जिवित भएको, यसबीचमा भएका कामहरुबारे पारस्परिक जानकारी लिने कामसहित विषय प्रवेश गरेको बताए। विवाद समाधनका लागि पुनर्जिवित गरिएको कार्यदलले बुधबारबाट ठोस सहमति खोज्ने प्रयास गर्नेछ।
‘कसरी अघि जान सक्छौं भनेर भोलि छलफल गर्छौं, त्यसका सन्दर्भमा थप विचार र दृष्टिकोणका साथ, टुंगो तुरुन्तै नलागनेपनि समस्या समाधानको दिशामा अघि बढेका छौं,’ उनले भने।
कार्यदलमा रहेका दुवै पक्षका नेताहरु समस्या समाधानका लागि सकारात्मक रुपमा प्रस्तुत भएका कारण यसपल्ट आशावादी हुन सकिने नेता गोकर्ण विष्टले बताए।
‘कार्यदलका सबै सदस्यले आ–आफ्नो सुझाव राख्नु भएको छ। कसरी टुंगोमा पुग्ने भन्ने गरी छलफल अघि बढेको छ,’ विष्टले भने ‘हिजोभन्दा आज धेरै प्रगती भएको छ। केही विमतिका कुरा थिए। कहाँ–कहाँ विमति छ, त्यसमा कसरी टुंगोमा पुग्ने भन्ने गरी छलफल भएको छ।’
विवादित विषयमा एकअर्को पक्षका धारणा स्पष्ट रुपमा आएकाले सहमतिको मध्यविन्दु खोज्न सहज हुने वार्तामा सहभागी नेताहरुको आकलन छ। मंगलबार प्रस्तुत धारणाका आधारमा बुधबार बस्ने बैठकले सहमति खोज्ने प्रयास गर्नेछ।
एकता कार्यदलबाट टुंगिने विषयमा त्यहीँबाट र शीर्ष नेताहरुबीच रहेको असमझदारी शीर्ष तहबाटै टुंग्याउने प्रयास भइरहेको कार्यदलका सदस्यहरुले जानकारी दिएका छन्। कार्यदलका एक सदस्यकाअनुसार यही बीचमा शीर्ष नेताहरुबीच संवाद गराउने प्रयास समेत भइरहेको छ। शीर्ष तहमै समझदारी खोजिने विषय पहिल्याएर त्यही विषयमा मात्रै केन्द्रित रहेर संवाद गराउने तयारी वार्ता कमिटीको छ।
कार्यदल ब्युँताउन अध्यक्ष ओली राजी हुनु र नेपाल पक्षका ‘हार्डलाइनर’का रुपमा चिनिएका रावल नै एकता प्रक्रियामा हुनुले यो वार्तामा शीर्ष तहका नेताहरु नै सकारात्मक रहेको रुपमा वार्ता कमिटीका अन्य नेताहरुले बुझेका छन्।
प्रधानमन्त्री ओली पछिल्लो समय एकताको प्रयासमा छन्। अध्यक्ष ओलीले आफैंले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएका रावललाई बोलाएर सहमतिको प्रयास गरेका छन्। आइतबार राति प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर रावलले सहमतिका लागि कार्यदल ब्युँताउन ओलीलाई आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले सोमबार नै कार्यदल ब्युँताएर बैठकका लागि बाटो खोलिदिएका थिए।
यसअघि सबैभन्दा पेचिलो बनेको सर्वोच्च अदालतमा नेपाल पक्षका २३ जना ‘सांसद’ले गरेको हस्ताक्षरको सान्दर्भिकता सकिएको दुवै पक्षले महशुस गरेका छन्। अदालतले असार २८ गते सुनुवाइ गर्ने मिति तोकेको छ।
त्यसअघि नै एमाले एक भएको सन्देश प्रवाह गर्न प्रधानमन्त्री ओलीले खोजिरहेका छन्। पार्टी संरचनालाई जेठ २ मा फर्काउनुपर्ने आफ्नो अडानको सम्बोधन भएमा नेपाल पक्ष सहमतिका लागि तयार रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।