काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरपक्ष निर्वाचन आयोग पुगेका छन्।
आयोगले दुबै पक्षलाई छलफलका लागि बिहान ११ बजे बोलाएपछि यादव र ठाकुर निर्वाचन आयोगको कार्यालय पुगेका हुन्।
आयोगमा उपेन्द्र पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रकाश अधिकारी पुगेका छन् भने महन्थ पक्षका महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी, सुरेन्द्र झा, केशव झा आयोग कार्यालय पुगेका छन्।
राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
जसपा अध्यक्ष यादव र ठाकुर दुवै पक्षले एक अर्कालाई कारबाही गरेका छन्। यादवले ठाकुरसहितका ४ जना नेतालाई पार्टीबाट निष्कासन गरेका छन्। ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरेका छन्।
५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका थिए।
जसपाका ५२ कार्यकारिणी सदस्य (रेशम चौधरीसहित) मध्ये ३१ जना उपेन्द्र-बाबुराम पक्षमा छन्। महन्थ-राजेन्द्र पक्षसँग २१ जना छन्। तर, ठाकुरले पहिलो वरियताका अध्यक्षलाई कार्यकारिणी सदस्य थप गर्ने अधिकार विधानले दिएको भन्दै २० जना थप गरेर पठाएका छन्।
यस्तै, जसपामा ३४ निर्वमान सांसद (दुई जना निलम्बित) मध्ये महन्थ-राजेन्द्र पक्षसँग २० जना छन् भने उपेन्द्र-बाबुराम पक्षसँग १२ जना मात्रै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।