काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षसँग मिल्नुपर्ने निष्कर्ष निकालेको छ। सोमबार पार्टी कार्यालय बबरमहलमा भएको कार्यकारिणी सदस्य र निवर्तमान सांसदहरुको भेलाले बाबुराम-उपेन्द्र मिल्न तयार भए प्रत्यत्न गर्ने निष्कर्ष निकालेको हो।
मंगलबार बिहान ११ बजे निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई सहमतिका लागि बोलाएकाले त्यसको एक दिनअघि महन्थ-राजेन्द्र पक्षले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्ने बताएको हो।
‘कार्यकारिणी समिति र निवर्तमान सांसदहरुको भेला बोलाएको थियो। सबैले आ-आफ्नो धारणा राख्नुभयो’ एक कार्यकारिणी सदस्यले भने, ‘उपेन्द्र-बाबुराम पक्ष मिल्न तयार भए आफ्नो तर्फबाट मिल्न प्रयत्न गर्नुपर्छ। पार्टी विभाजन गरेर कसैलाई फाइदा हुँदैन भन्ने निष्कर्षमा पुग्याैं।’
तर, पार्टी एकता गरेपनि महन्थ ठाकुरले थपेको कार्यकारिणी सदस्य भने फिर्ता नगर्ने ती नेताले बताए। उपेन्द्र-बाबुराम पक्षले राजेन्द्र-महन्थ पक्ष आत्मालोचना गरेमा एकताका लागि संवाद अघि बढाउन सकिने बताउँदै आएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनु गल्ती भएको स्वीकार गर्दै आत्मालोचना गरेमा जसपा एक हुने उनीहरुको भनाइ छ।
महन्थ-राजेन्द्र पक्षले लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी निर्वाचन आयोग जाने निर्णय गरेको छ।
यस्तै, उपेन्द्र-बाबुराम पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेता महेन्द्र राय यादव र प्रकाश अधिकारी निर्वाचन आयोग जाने भएका छन्। दुवै पक्षलाई निर्वाचन आयोगले बोलाएकाले परामर्शका लागि मंगलबार नेताहरू जान लागेका हुन्।
जसपाका ५२ कार्यकारिणी सदस्य (रेशम चौधरीसहित) मध्ये ३१ जना उपेन्द्र-बाबुराम पक्षमा छन्। महन्थ-राजेन्द्र पक्षसँग २१ जना छन्। तर, ठाकुरले पहिलो वरियताका अध्यक्षलाई कार्यकारिणी सदस्य थप गर्ने अधिकार विधानले दिएको भन्दै २० जना थप गरेर पठाएका छन्। यस्तै, जसपामा ३४ निर्वमान सांसद (दुई जना निलम्बित) मध्ये महन्थ-राजेन्द्र पक्षसँग २० जना छन् भने उपेन्द्र-बाबुराम पक्षसँग १२ जना मात्रै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।