काठमाडौं- राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले सरकारका धेरै वेबसाइटहरूमा नेपालको पुरानो नक्सा नै रहेको भन्दै सच्याउन अनुरोध गरेका छन्।
राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि सोमबारको बैठकको विशेष समयमा बोल्दै देवकोटाले सरकारका धेरै निकायमा पुरानो नक्सा नै रहेकाले सच्याउनुपर्ने आवश्यकता औंल्याएका हुन्।
उनले शपथ सम्बन्धी अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट देखिएको बताए। अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर शपथ लिन लगाउनुपर्ने राष्ट्रपतिले शपथ सम्बन्धी अध्यादेश जारी गरेर संविधान विपरीत काम गरेको देवकोटाले टिप्पणी गरे।
अर्का राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डेले राजनीतिक रुपमा देश विभाजन हुनु गम्भीर भएको बताए। राष्ट्रिय सभामा पहिलोपल्ट बोल्दै सदस्य पाण्डेले राष्ट्रिय राजनीतिमा ठूलो दल विभाजन उन्मुख हुनु दःुखद् भएको टिप्पणी गरे।
सरकारले लिएको नीतिले विकास निर्माण र शासन व्यवस्था नै केन्द्रिकृत हुन पुगेको उनको आरोप छ। अहिलेसम्म प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो अधिकार पाउन नसक्दा संघीयताविरुद्ध आवाजहरू उठ्न थालेको उनको चिन्ता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।