काठमाडौं- आइतबार राति नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगे। रावललाई फकाएर सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता गराउने रणनीति थियो। अध्यक्ष ओलीको निम्तोमा बालुवाटार पुगेका रावलले अदालतको फैसलापछि त्यसैअनुसार अगाडि बढ्न सुझाएका छन्।
रावलसँगको भेटमा ओलीले हस्ताक्षर फिर्ता गर्ने कुरामै जोड दिएका थिए। त्यसले एकता प्रक्रिया टुंगोमा पुग्ने उनको भनाइ थियो। ओलीको भनाइ उद्धृत गर्दै रावलनिकट एक नेताले भने, 'तपाईंहरुले हस्ताक्षर फिर्ता लिनुपर्यो। म पार्टी एकताकै पक्षमा छु, तपाईं पनि त्यसका लागि क्रियाशील भइदिनुस्।'
आफूले प्रतिनिधि सभा जीवित हुँदा नै कांग्रेस शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको नभइ विघटनपछि संविधानको रक्षाका लागि गरेको रावलले स्पष्ट पारेका थिए। त्यसैले संविधान रक्षा पहिलो सर्त रहेको उल्लेख गर्दै उनले ओलीसँग भने, 'एकपटक संसद् मासेर अर्कोपटक विघटन गर्ने तयारी गरेपछि संविधान रक्षाका लागि गरेका हौं। अदालतबाट जे परिणाम आउँछ, त्यो स्वीकारेर अगाडि बढाउनुपर्छ।'
रावलले 'तपाईंले प्रतिनिधि सभा विघटन गरेको जिम्मेवारी लिनुनपर्ने, हामीले चाहिँ हस्ताक्षर फिर्ता लिनुपर्ने?' भन्दै प्रश्नसमेत गरेका थिए।
भेटमा एकताका लागि विधि विधान मान्न र जेठ २ गते फर्कन रावले प्रस्ताव गरेका थिए। 'हामीले कुनै पद मागेका छैनौं। यो थिति र विधि मान्दा फाइदा तपाईंलाई नै हुन्छ। दुईतिहाइको सरकार अल्पमतमा पर्दा घाटा कसलाई भयो? रावलको भनाइ थियो, 'साँच्चै मिल्ने तपाईंको उद्देश्य हो भने कार्यदललाई सक्रिय बनाऔं। त्यो सक्रिय बनेमा एक किसिमको मेसेज जान्छ। कार्यदलले निर्णय जे गर्छ, त्योअनुसार अगाडि बढौं।'
नेकपा माओवादी केन्द्रबाट एमालेमै बसेका रामबहादुर थापा बादललगायतका नेताहरुलाई उपयुक्त अवसर दिनुपर्नेमा आफूहरु पनि तयार रहेको बताउँदै सुरुमा अदालतको फैसलाअनुसार अलग हुन रावलले आग्रह गरेका थिए।
रावलको भनाइ थियो, 'जेठ २ गते जुन कमिटी थियो, त्यसको बैठक राखेर त्यहाँबाट बादललगायतका नेतालाई जिम्मेवारी दिन सकिन्थ्यो। तर, तपाईं नै मैले जे चाह्यो त्यो गर्छु भनेर अगाडि बढेकाले समस्या उत्पन्न भएको हो। तपाईं माधव नेपाललाई पद चाहियो भन्दै हुनुहुन्छ, त्यो पद कसैलाई आवश्यक छैन।'
रावलले हस्ताक्षर फिर्ताको विषयलाई मुख्य अजेन्डा नबनाइ पार्टी मिलाउने हो भने कार्यदल सक्रिय बनाएर अघि बढ्न सकिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।