काठमाडौं– विपक्षी दल माओवादी केन्द्रले प्रदेश १ को प्रदेश सभा बैठक पाँचौंपटक अवरुद्ध गरेको छ।
माओवादी केन्द्रका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै सदनको काम–कारबाही अगाडि बढाउन नदिएपछि सोमबारको बैठक पनि कार्ययूचीमा प्रवेश नगरी स्थगित गरिएको छ।
प्रदेश सभाको १२ औं बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ अमर्यादित रुपमा प्रस्तुत भएको भन्दै माओवादीले प्रदेश सभा बैठक अवरुद्ध पार्दै आएको छ। मन्त्री गुरुङले माफी नमागेसम्म प्रदेश सभा बैठक चल्न नदिइने माओवादी केन्द्रको अडान छ।
प्रदेश सरकारका मन्त्री गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र प्रदेश सभामा सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएकाले उनले तत्काल माफी माग्नुपर्ने माओवादी केन्द्रको माग छ।
सदन चलाउने विषयमा सत्तापक्ष र माओवादीका सांसदबीच बैठक भएपनि कुनै निष्कर्ष भने निस्किएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।