फाइल तस्वीर
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्रिय स्वधीनता संकटमा परेको बताएका छन्। राष्ट्रिय सभामा बोल्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले विदेशी हस्तक्षेप आमन्त्रण गरेर आन्तरिक मामिलामा हस्तक्षेप निम्त्याएको बताए।
उनले संविधान र लोकतन्त्रविरुद्ध जाने हिम्मत विदेशीकै साथका कारण जुटाएको संकेत पनि गरेका छन्। आफ्नो सत्तालिप्साले विदेशीलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न निम्त्याएको उनको भनाइ छ।
उनले भने, ‘संविधानको नाङ्गो उल्लंघन गर्नुभयो, लोकतन्त्रको धज्जी उडाउनुभयो, अध्यादेशबाट शासन चलाएर निरंकुशता लाद्न खोज्नुभयो र भ्रष्टाचार बढाउनुभयो। आफ्नो लिप्साका कारण विदेशीलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न निम्त्याउनु मात्रै भएन उनीहरुकै सहयोगमा अहिले राष्ट्रियताविरोधी काम गरिरहनुभएको छ।’
ओलीले यसअघि राष्ट्रियताको कुरा गरेर राष्ट्रियतामाथि नै गम्भीर धोकाधडी गरेको उनको आरोपछ। ओलीको राष्ट्रियता आत्मसमर्पणवाद र लम्पसारवादमा पुगेको श्रेष्ठको जिकिर छ।
एकपछि अर्को गर्दै आन्तरिक मामिलामा हस्तक्षेप भइरहेको उनको भनाए। उनले थपे, ‘एकपछि अर्को मामलमा हस्तक्षेप भइरहेको छ, प्रतिवाद गरिँदैन। उल्टै आमन्त्रण गरेर स्वधीनतामा आँच पुगेको छ।’
प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सहयोगका साथ एकपछि अर्को गर्दै प्रतिगामी कदम चाल्दै अहिले प्रतिनिधी सभा विघटनसम्म पुगेको उनले उल्लेख गरे। उनले भने, ‘एकपल्ट प्रतिगामी कदम असफल बनायौं। अहिले दोहोरिएको छ। किनभने पूर्ण रुपमा असफल बनाउन सकिएको छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।