काठमाडौं– सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय छुवाछुत गर्नेविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ।
सुनारले आफू दलित भएको भन्दै कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएर आइतबार मुद्दा दायर गरेकी थिइन्।
उनले कोठा भाडामा लिने/दिने मौखिक सहमति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय (कामी) थरको भएको बताएपछि कोठा दिन अस्वीकार गरेको रिटमा उल्लेख गरेकी छन्।
उनले रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मेरो मौलिक हकको संरक्षणको लागि आदेश जारी गर्न माग गरेकी छन्।
यसैगरी शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले तत्काल उक्त पदबाट हटाइ निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारबाहीको माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।