काठमाडौं- संसद विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइमा अन्तिम बहस सुरु भएको छ।
सोमबार वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस सुरु गरेका छन्। आज रिट निवेदक पक्षका ३ जना वरिष्ठ अधिवक्ताले बहस गर्नेछन्। सोमबार वरिष्ठ अधिवक्ता हरिहर दाहालसँगै शम्भु थापा, बद्रीबहादुर कार्कीले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्नेछन्।
सुनुवाइ अन्तर्गत अब ४ घण्टा मात्र बहसको समय बाँकी रहेको छ। रिट निवेदक तर्फका कानून व्यवसायीलाई जवाफी बहसका लागि २ घन्टाको समय बाँकी छ।
आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएसँगै रिट निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस सुरु गरेका थिए। निवेदक पक्षबाट आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए। पक्षका कानुन व्यवसायीको जवाफी बहसका लागि ३ घण्टाको समय निर्धारण गरिएको छ।
पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएपछि एमिकस क्युरीले इजलासलाई राय दिने क्रम शुरु हुने छ। सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ।
सर्वोच्च बारबाट एमिकस क्यूरीका रुपमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रसाद घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ भने नेपाल बारले राघवलाल वैद्य र उषामल्ल पाठकलाई पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।