काठमाडौं– स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन सुरु भएको छ। नेपाल सरकारसँग समझदारी गरी अघि बढाएको अभियान कार्यान्वयनका लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको नेपाल उद्योग परिसंघले जनाएको छ।
परिसंघले एक विज्ञप्ति प्रकाशित गरी यो अभियानमा आबद्ध हुन चाहने स्वदेशी उद्योग–व्यवसायले वेब पोर्टलमार्फत आवेदन दिन आग्रह गरेको छ। प्राप्त आवेदनमाथि स्वदेशी कार्यसम्पादन समितिले मूल्यांकन गरी मापदण्ड पूरा गरेका व्यवसायलाई अनलाइनमार्फत नै स्वदेशीका लागि अनुमोदन गरी थप प्रक्रिया अघि बढाउनेछ।
वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने यस्ता उत्पादकले अनलाइनमार्फत नै स्वदेशीको सदस्यता प्राप्त गर्नसक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको परिसंघले जनाएको छ।
यो अभियानअन्तर्गत वार्षिक एक हजार उद्योग दर्ता, कुल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा उद्योगको योगदान २२ प्रतिशत पुर्याउने, वार्षिक एक हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र सन् २०२५ सम्ममा चार अर्ब ६० करोड अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ।
स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु नै मेक इन नेपाल स्वदेशीको लक्ष्य रहेको परिसंघका अध्यक्ष सतीशकुमार मोरले बताए। अभियानले नेपाली वस्तुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने र आन्तरिक तथा बाह्य बजारमा उपभोग बढाउने लक्ष्य राखेको उनको भनाइए थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।