मकवानपुर- बागमती प्रदेश सभाको भोलि सोमबार दिनको १ बजे बस्ने गरी सारिएको छ। यसअघि बैठक आज आइतबारका लागि तय थियो। प्रदेश सभाको आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक सर्वदलीय सहमतिको लागि आजै अपराह्न ३ बजेको समय राखिएकामा पुनः विशेष कारणवश बैठकलाई स्थगित गरी भोलि दिनको १ बजे बस्ने गरी सूचना सम्प्रेषण गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।
प्रदेश सभाको बैठकमा हिजो विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गरेका थिए। प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा आज हेटौँडामा बसेको सर्वदलीय बैठक भएको थियो।
बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ, विवेकशील साझा दलका रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए।
उनीहरुबीच भोलि असार २१ गते दिनको १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए।
भोलि बस्ने प्रदेश सभाको पहिलो बैठकमा सर्वदलीय बैठकमा सहमति भएअनुसार सरकारको तर्फबाट एक मन्त्रीले सरकारले ल्याएको बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने र प्रतिपक्षीले उठाएका विषयमा स्पष्टीकरण दिने र उनीहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको प्रमुख सचेतक निरौलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।