फाइल तस्वीर।
काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ताको काम १० दिनभित्र टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।
आइतबार बिहान नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर यसअघि भएको सहमतिअनुसार १० दिनभित्र बन्दी रिहा र मुद्दा फिर्ता लिन भनेका हुन्।
भेटमा प्रधानमन्त्री ओलीले यी काम प्रक्रियामै रहेको बताएका थिए। 'प्रधानमन्त्रीले बन्दी रिहा र मुद्दा फिर्ताका लागि गम्भीर रहेको बताउनुभयाे। हामीले १० दिनभित्र यी काम टुंग्याउनुपर्छ भनेका छाैं', नेकपा प्रवक्ता विश्वकर्माले भने।
विश्वकर्माका अनुसार अहिले १ सय ३० बन्दी जेलमा छ्न्। उत्तिकै संख्यामा मुद्दा फिर्ता लिने काम बाँकी छ। सचिवालय सदस्य हेमन्तप्रकाश वली, केन्द्रीय सदस्य भरत बम र चूडामणि वलीसहितका नेताहरू विभिन्न कारागारमा छन्।
'हामीले कम्तिमा १० दिनभित्र परिणाम आउनुपर्छ भन्ने हिसाबले प्रधानमन्त्रीसँग कुरा गरेका छाैं', नेता विश्वकर्माले भने।
गत वर्ष २१ फागुनमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमार्फत् सरकारसँग तीन बुँदे सहमति गर्दै चन्द नेतृत्वको नेकपा औपचारिक रुपमा शान्तिपूर्ण राजनीतिमा आएको थियो।
तीन बुँदे सहमतिको महत्त्वपूर्ण बुँदा नेता कार्यकर्ता रिहा र मुद्दा फिर्तामा सरकार गम्भीर नबनेकाे नेकपा नेताहरू बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।