काठमाडौं– लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएकी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझी जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षमा 'फर्किएकी' छन्।
अध्यक्ष उपेन्द्र यादवको निर्देशनानुसार शुक्रबार (असार १८) राज्यमन्त्रीबाट राजीनामा दिएकी नेतृ शर्माले पार्टीको ‘मूलधार’ (उपेन्द्र–बाबुराम) पक्षमा रहेर काम गर्ने बताएकी छन्।
जसपाको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा उपेन्द्र बाबुराम पक्षका सहसराम यादव छन्। तर, संसदीय दलका नेताको निर्देशन विपरीत शर्मा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएकी थिइन्।
सरकारमा सहभागी भएपछि पार्टी केन्द्र (अध्यक्ष यादव)ले सांसद पदबाट हटाउने चेतावनी दिएपछि उनले राजीनामा दिएकी हुन्।
आइतबार प्रदेश सभा सचिवालयलाई पत्र लेख्दै शर्माले मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको समेत जानकारी गराएकी छन्। शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।