काठमाडौं- प्रतिनिधि सभा विघटनको मुद्दामा आइतबारदेखि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गर्दै छन्। उनीहरुपछि विपक्षी गठबन्धनका १४६ सांसदहरुले दायर गरेको रिटका तर्फबाट जवाफी बहस सुरु हुने छ।
सभामुखका कानुन व्यवसायीलाई २ घण्टाको समय उपलब्ध गराइएकाले बाँकी समय निवेदकहरुले जवाफी बहस गर्ने छन्। आइतबार चिया समयपछि जवाफी बहस सुरु गर्ने तयारीमा रिट निवेदकहरु रहेका छन्।
गठबन्धनका तर्फबाट तीन घण्टा बहसका लागि चार वरिष्ठ अधिवक्ताहरु उभिने भएका छन्। वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठले बहस गर्ने तय भएको हो।
उनीहरुले इजलासमा उठेका प्रश्न, सरकारी वकिलले उठाएको सवाल र प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले गरेका जिकिरहरुमा बहस गर्ने छन्। गठबन्धनले ३ घण्टाको अवधिमा बहस सक्नु पर्ने भएकाले विषय समेत विभाजन गरेर तयारी गरिरहेका छन्। वरिष्ठ अधिवक्ता कार्कीले विघटनका सिद्धान्तहरु, दाहाल र थापाले ले ह्वीप र निर्दलीय अभ्यास तथा श्रेष्ठले इजलासमा उठेको तथ्यमा जवाफी बहस गर्नेछन्।
जेठ ७ गते मध्यरातमा भएको प्रतिनिधि सभा विघटनको मुद्दामा अहिले अन्तिम सुनुवाइ चलिरहेको छ। हालसम्म ६८ जनाले आफ्नो राय राखेका छन्। अब सभामुख, निवेदकको जवाफ अनि एमिकस क्युरीका तर्फबाट राय प्रस्तुत हुनेछ।
उनीहरुको बहस समाप्त भएपछि यो साताभित्रै सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ। असार ९ गते सुरु भएको अन्तिम बहसमा धारा ७६ को ५ का बारेमा धेरै प्रश्न उठेका छन्। यो धारा कसले प्रयोग गर्नेदेखि यो धाराको प्रयोग निर्दलीय हुने कि नहुने र ह्विप लाग्ने विषयमा समेत धेरै प्रश्नहरु उठेका छन्। यो प्रश्नको जवाफ यो फैसलाले दिनुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।