काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू निकट २३ जना ‘सांसद’हरुसँग छलफल गरेका छन्।
शुक्रबार बसेको नेकपा एमालेको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन ३ दिनको अल्टिमेटम दिएपछि नेता नेपालले शनिबार आफू निकट २३ जना सांसदसँग छलफल गरेका हुन्।
शनिबारको छलफलमा देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नहुने अडान राखिएको छलफलमा सहभागी निवर्तमान सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्।
शनिबारको छलफलमा सहभागी सबैजसो सांसदले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन नहुने, अहिलेकै अवस्थामा ओलीले बोलाएको बैठकमा पनि जान नहुने धारणा राखेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरात प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी गठबन्धनले प्रतिनिधि सभा पुनःस्थापनासहितको मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
विघटित प्रतिनिधि सभाका १४६ जना सांसदले हस्ताक्षर गरेको रिटमा एमालेका माधव नेपाल पक्षका २३ जनाको समेत हस्ताक्षर छ। उक्त रिटमा संविधानको धारा ७६ को (५) अनुसार सरकार गठनका लागि राष्ट्रपतिबाट गरिएको आह्वानअनुसार १४९ जना सांसदको समर्थनसहित दाबेदारी पेस गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि आदेश हुनुपर्ने मागदाबी समेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।